जनता टाइम्स

२८ पुष २०७८, बुधबार ०५:५७

एमाले अर्घाखाँचीको नेतृत्व चयनप्रति आकांक्षी असन्तुष्ट, उम्मेदवार बन्नै नदिएको आरोप


अर्घाखाँची, पुस २८ । नेकपा एमाले अर्घाखाँचीले सहमतिमा नेतृत्व चयन गरेको बताए पनि अधिवेशन सकिएसँगै असन्तुष्टिका स्वरहरु आउन थालेका छन् । नेता पिताम्बर भुसालको नेतृत्वमा नयाँ कार्य समितिको घोषणा गरेको नेकपा एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनपछि केहीले पार्टी त्याग गरेका छन् भने केहीले सामाजिक सन्जालमा असन्तुष्टि जनाइरहेका छन् ।

एमालेले जिल्ला अधिवेशनलाई तानाशाही शैलीमा गरेका कारण असन्तुष्टि चुलिएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताए । अधिवेशन सकिएसँगै राष्टिय युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका युवा नेता गोविन्द भुसालले राजीनामाको घोषणा नै गर्नुभएको छ । त्यस्तै नेता खुविराम आचार्यले जबरजस्ती खल्तीका मान्छे टिपेर अधिवेशनमा नाटक मन्चन गरिएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि जनाउनु भएको छ ।

पूर्व उपाध्यक्ष जिवनारायण कोइरालाले नेतृत्वमा दाबी गर्नुभएको थियो भने पूर्व उपसचिव प्रेम गैरेले सचिवमा दाबी गर्नुभएको थियो । त्यस्तै आचार्यले उपसचिवमा उम्मेदवारी दिन चाहनु भएको थियो । सहमतिको नाममा उम्मेदवारी दर्ता गर्न नपाएको उहाँहरुको आरोप छ ।

निर्वाचन मण्डलले भने कुनै पनि पदमा दोहोरो उम्मेदवारी नपरेपछि सर्वसम्मत नेतृत्व चयन भएको दाबी गरेको छ । ‘कुनै पनि पदमा दोहोरो उम्मेदवारी परेन, दोहोरो उम्मेदवारी नपरेपछि निर्वाचनमा कसरी जान सकिन्छ र ?’ प्रतिप्रश्न गर्दै प्रमुख निर्वाचन अधिकृत केवि भुसालले भन्नुभयो, ‘हामीले उम्मेदवारी दर्ता गर्न चाहनेलाई समय दिएका थियौं । तर निर्धारित समयसम्म कुनैपनि पदमा दोहोरो उम्मेदवारी परेन ।’