जनता टाइम्स

१७ असार २०७६, मंगलवार १४:३८

एसिसी पूर्वी क्षेत्रीय क्रिकेट : सिङ्गापुर विजयी


काठमाडौं, असार १७

मलेसियामा आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो ।

सिङ्गापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । सिङ्गापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाउनुभयो । बलिङतर्फ चीनका टियान सेन कुनले दुई विकेट लिनुभयो । यसअघि ब्याटिङ गर्ने क्रममा चीनका सात ब्याट्सम्यान शून्य रनमा आउट भए । वेई गुइलीले सर्वाधिक ७ रन बनाउनुभयो ।

चीनलाई न्यून स्कोरमा समेट्ने क्रममा सिङ्गापुरका विनित चितेस मेहताले सात विकेट लिनुभयो । सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिङ्गापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । प्रतियोगिताको विजेताले श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कप खेल्नेछ ।