जनता टाइम्स

२८ पुष २०७८, बुधबार १८:५२

एमाले संखुवासभा अध्यक्षमा घिमिरे सर्वसम्मत, यी हुन पदाधिकारी


संखुवासभा, पुस २८ । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

२६ गते ८औं जिल्ला अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गर्नुभएको थियो । सहमतिका लागि मंगलबार र बुधबार दिन भर प्रयास गरिएको थियो । अधिवेशनबाट जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ, सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

उपसचिव खड्का नेकपा माओवादी केन्द्रबाट केही दिनअघि एमालेमा प्रवेश गर्नुभएको हो । बुधबार साँझसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको हो । सोमबारदेखि सुरु भएको आठौं जिल्ला अधिवेशनमा एक हजार जना भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई बुधबार साँझ नै पद तथा गोपनीयताको शपथ गराइएको निर्वाचन समितिका प्रमुख भविश्वर गुरुङले बताउनु भयो ।