काठमाडौं, ३० पुस । मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बोधन गरेका थिए । शर्माले नमस्कार समेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलेका हुन् ।कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रहरीले अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं मेडिकल कलेजले ६ लाखसम्म अतिरक्ति शुल्क लिएको विरोध विद्यार्थीहरु एक महिनादेखि आन्दोलनरत छन्। शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।
बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निर्णयमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्