जनता टाइम्स

२ माघ २०७८, आईतवार १०:३२

गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार श्रेष्ठ र भण्डारीलाई


बीरगञ्ज, माघ २ । गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठ र राजधानी दैनिकका संवाददाता तुलसी (विजय) भण्डारीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ पर्साद्वारा स्थापित सो पुरस्कारको रु २५ हजार सहित सम्मानपत्र रहेको छ । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगीले पत्रकारद्वय श्रेष्ठ र भण्डारीलाई क्रमशः विसं २०७७ र २०७८ को पुरस्कार अर्पण गर्नुभएको थियो ।

कम्मल वितरण

तराईमा पछिल्लो पटक चिसो बढ्दै गएपछि यहाँका दैनिक गुजारा गरी जीविकोपार्जन गर्ने समुदायलाई लक्षित गरी कम्मल उपलब्ध गराइएको छ । वीरगञ्जस्थित ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले दातृ निकाय सिप्रदियन सहायता संस्थासँगको सहकार्यमा १५० जनालाई कम्मल उपलब्ध गराएको हो ।

विशेषगरी रिक्सा चालक, मेकानिक, मजदुर र सडकमा आफ्नो जीवन बिताउन बाध्य रहेका व्यक्तिहरुलाई कम्मल उपलब्ध गराइएको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले जनाएको छ । बढ्दै गरेको चिसोलाई दृष्तिगत गर्दै चिसो र शीतलहरले स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले दैनिक गुजारा गरी जीविकोपार्जन गर्ने समुदायलाई कम्मल दिइएको केन्द्रले जनाएको छ ।

मास्क जनचेतना अभियान

पर्साको ग्रामीण क्षेत्रअन्तर्गत विन्ध्यवासिनी गाउँपालिका–३ झौवागुठीमा मास्क जनचेतनामूलक वितरण अभियान सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टि र प्रहरी चौकी अमरपट्टिको संयुक्त आयोजनामा निःशुल्क रुपमा मास्क वितरण गरी मास्कसम्बन्धी जनचेतना फैलाइएको हो ।

मास्क लगाउने बानी छुटिसकेको हुँदा पुनः बढ्दै गरेको जोखिमपूर्ण अवस्थामा नागरिकलाई सचेत बनाउन मास्क वितरण गरिएको सशस्त्र प्रहरी, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टिले जनाएको छ । माक्सको प्रयोग गर्न प्रोत्साहन गर्नका लागि विन्ध्यवासिनी गाउँपालिकाको सहयोगमा माक्स वितरण गरिएको प्रहरी चौकी अमरपट्टिले जनाएको छ ।

जिल्ला सदरमुकाम वीरगञ्जमा मास्कको प्रयोग भए पनि ग्रामीण क्षेत्रमा अझै पनि अधिकांशले मास्क लगाएको पाइँदैन । जनचेतनाको अभावमा मास्क नलगाउँदा सङ्क्रमण बढ्ने जोखिम रहेको छ । जोखिम कम गर्न र सङ्क्रमण फैलिन नदिन घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न तथा खोप नलगाएका सबैलाई खोप लगाउन आग्रह गरिएको हो । (रासस)