जनता टाइम्स

४ माघ २०७८, मंगलवार ०७:५८

न्यून चापीय प्रणालीको प्रभाव : तराईमा दिनभर हुस्सु लाग्ने, केही ठाउँमा हल्का पानी पर्ने


काठमाडौं, ४ माघ । नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यो प्रणालीका कारण आज केही ठाउँमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् समिर श्रेष्ठकाअनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ भने देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।

पहाडी क्षेत्रमा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।यस्तै, तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु, कुहिरो लागेको छ ।आज दिनभर जस्तै हुस्सु लाग्ने अनुमान गरिएको छ । पारिलो घाम नलाग्दा देशभरको अधिकतम तापक्रम घट्न थालेको छ । यसले चिसो बढाएको छ ।

अहिले नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको असर आजैदेखि हट्ने भए पनि फेरि अर्को प्रणाली आउने सम्भावना रहेकाले दुई/तीन दिनको मौसम यस्तै रहने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।उहाँका अनुसार आजदेखि पश्चिमी वायुको अर्को प्रणाली नेपाल प्रवेश गर्ने अनुमान छ । यसपालिको हिउँदमा ठूलो वर्षा नभए पनि पश्चिमी वायुको प्रभावका कारण मौमस बद्ली भइरहेको छ ।