जनता टाइम्स

४ माघ २०७८, मंगलवार ०८:२१

प्रहरीमा १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हट्यो


काठमाडौं, माघ ४। प्रहरीमा १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हटेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर बाह्र बर्ष भन्ने शब्दको सट्टा ‘आठ वर्ष’ भन्ने शब्द राख्ने निर्णय गरेको छ ।

सो निर्णय सोमबार राजपत्रमा प्रकाशन गरिएको छ । यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने डीएसपीसम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वत बढुवा दिने व्यवस्था थियो । अब, सो व्यवस्थालाई परिवर्तन गरेर ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति गरेर अवकाश दिनेगरी नियमावली संशोधन गरिएको छ ।

यसअघि १२ वर्षसम्म प्रहरी नायव निरीक्षक (सई) दर्जामा काम गरेपछि मात्र इन्स्पेक्टर र इन्सपेक्टरमा पनि १२ वर्ष काम गरेपछि डिएसपीमा पदोन्नति भएर अवकाश पाउने व्यवस्था थियो । अब, सो व्यवस्था हटाएर ८ वर्ष कायम गरिएको छ । इन्स्पेक्टरमा ८ वर्ष जागिर भएपछि अवकाशमा जाने प्रहरी अधिकृतहरु अब डिएसपीमा स्वतः बढुवा भएर अवकाश पाउँछन् ।संशोधित नियमावली लागू भएपछि वरिष्ठ सईमा बढुवा हुने प्रहरी कर्मचारीको हकमा पनि त्यसअघिको सई पदको अवधि गणना गरेर इन्स्पेक्टरमा बढुवा गर्नेगरी नियमावली संशोधन गरिएको छ ।