जनता टाइम्स

४ माघ २०७८, मंगलवार १२:१५

प्रचण्ड–माधवको प्रस्ताव अस्वीकार, स्थानीय चुनाव वैशाखमै गर्ने सहमति


काठमाडौं, माघ ४ । सत्तारुढ गठबन्धनबीच स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ । केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले यस्तो सहमति गरेको हो ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह खाली गरेर संसदीय निर्वाचनमा जानुपर्नै दवाव प्रधानमन्त्रीलाई दिएपनि अस्वीकार गरेपछि बैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको एक नेताले बताए । ती नेताका अनुसार संवैधानिक व्यवस्था अंगीकार गरेर अगाडि बढ्न सबै सहमती भएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि समयमै स्थानीय तहको निर्वाचन हुने बताउनु भयो । ‘संविधानले तोकिएकै समयमा स्थानीय निर्वाचन गरेर संघीयतालाई मजबुत गराउँदै स्थानीय सेवा प्रवाह गर्ने कुरामा हामी सचेत छौं । समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ,’ कार्कीले भन्नुभयो ।

माओवादी नेता देव गुरुङले बैठकमा राष्ट्रिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचनबारे सैद्धान्तिक छलफलमात्रै भएको बताउनु भयो । ‘आज सैद्धान्तिक छलफल मात्रै भएको हो, संवैधानिक व्यवस्थाअनुसारै चुनाव गर्ने भन्नेछ। तर, डेटलाइनबारे आज कुराकानी भएन,’ गुरुङले भन्नुभयो ।
गुरुङले कोभिडका कारण माधव नेपाल, उपेन्द्र यादवलगायतका शीर्ष नेता समेत अनुपस्थित भएकाले मितिबारे अर्को बैठक राखेर छलफल गरेपछि मन्त्रिपरिषदबाट निर्णय हुने बताउनु भयो ।