जनता टाइम्स

५ माघ २०७८, बुधबार १८:५४

अष्ट्रेलियामा विदेशी कामदार-विद्यार्थीले सातामा २० घण्टा काम गर्न पाउने, भिसा शुल्क छुटले नेपाली विद्यार्थी लाभान्वित


काठमाडौं, माघ ५ । कोभिड–१९ महामारीको कारण कामदारको चर्को अभाव खेपिरहेको अष्ट्रेलियाले केही नयाँ नियम लागू गरेको छ । अष्ट्रेलिया सरकारले आजदेखि लागू हुने गरी नयाँ नियम लागू गरेको हो ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी आठ सातासम्म अष्ट्रेलिया भ्रमणमा जाने विदेशी कामदार र विद्यार्थीको लागि आकर्षक नियम ल्याउनु भएको हो । प्रधानमन्त्री मरिसनका अनुसार भिसा शुल्कमा छूट दिइने छ भने विद्यार्थी र विदेशी कामदारले सातामा २० घण्टाभन्दा बढी समयसम्म काम गर्न पाउनेछन् ।

सोमबार बसेको अष्ट्रेलियाली मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी पनि उहाँले दिनुभएको छ । काठमाडौंस्थित अष्ट्रेलियाली दूतावासले आजदेखि आठ हप्तासम्म यो नियम लागू हुने जनाएको छ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलोसिटी भल्कले नेपाली विद्यार्थीको लागि यो खुशिको कुरा भएको जनाउनु भएको छ । अहिले अष्ट्रेलियाको भिसा शुल्क ६ सय डलर छ । यो भिसा शुल्कमा छूट दिने निर्णय भएको हो ।

अष्ट्रेलिया सरकारको यो निर्णयपछि भिसाको पर्खाइमा रहेका झन्डै तीन हजार नेपाली विद्यार्थी लाभान्वित हुने भएका छन ।