जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १५:०२

नरसंहार मच्चाउने धम्की दिने मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न नागरिक अगुवाको अपील


जनकपुर, ७ माघ । गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले १५ वर्षअघि भएको गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने नागरिकहरूले माग गरेका छन् । आज जारी नागरिक अपीलमा भनिएको छ,‘मुलुकमा कानूनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अति आवश्यक छ । अतः हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’

५ माघमा रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको नामै लिएर गौर हत्याकाण्डमा जस्तै घेरा हालेर ज्यान लिने धम्की दिनुभएको थियो । मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने यादव जनउत्तरदायी कुनै पनि पदमा बस्न अयोग्य रहेको नागरिक अगुवाहरूको ठहर छ ।

अपील जारी गर्नेहरूमा डा. केदारनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षित हुनुहुन्छ । २०६३ चैतमा तत्कालीन मधेशी जनअधिकार फोरमको अग्रसरतामा २८ जना माओवादी समर्थकको अनाहकमा ज्यान जाने गरी बर्बर र पाशविक आक्रमण भएको थियो । हत्याका अभियुक्तलाई न्यायको कठघरामा उभ्याउन नसकिएको अवस्थामा मन्त्री यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत संलग्नता भएको स्वीकारोक्ति सार्वजनिक गरेको देखिन्छ ।