जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १५:२७

पत्रकार विश्वकर्माको निधनमा टिभी टुडेको लापरबाही : यूएनआईएमई


काठमाडौं, ७ माघ । मिडिया कर्मचारी युनियन नेपाल (यूएनआईएमई) ले पत्रकार एलबी विश्वकर्माको निधन उनी कार्यरत सञ्चार गृह टिभी टुडेको बेवास्ता र लापरबाहीले भएको बताएको छ । यूएनआईएमईका अध्यक्ष गोविन्द धितालले आज विज्ञप्ति जारी गरेर पत्रकार विश्वकर्माको निधनमा उनी कार्यरत सञ्चार गृहको बेवास्ता र लापरबाही स्पष्ट भएको बताउनुभएको हो ।

‘अस्पतालले पीसीआर गर्नका लागि एक हजार रुपैया मागेको तर पैसा नभएकाले पीसीआर नगरी घरमा फर्किएको र राति स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत सञ्चारगृहको बेवास्ता तथा लापरबाही स्पष्ट हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

श्रमजीवी पत्रकार एलवी विश्वकर्माको अस्वभाविक र असामयीक निधनको खवरले हामीलाई अत्यन्त मर्माहित बनाएको छ । निरन्तर काममा क्रियाशिल पत्रकारले पर्याप्त उपचारको अभावमा जीवन गुमाउने अवस्था आउनु आफैँमा लज्जाजनक र दुःखद् घटना हो।

अछाम घर भइ हाल काठमाडौमा रहेर टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीवार विहान निधन भएको हो । बिरामी भएपछि सिभिल अस्पतालमा गएको, अस्पतालले पीसीआर गर्नका लागि एक हजार रुपैया मागेको तर पैसा नभएकाले पीसीआर नगरी घरमा फर्किएको र राती स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत संचारगृहको बेवास्ता तथा लापरबाही स्पष्ट हुन्छ ।

त्यसैले उहाँको निधनका बारेमा विभिन्न कोणबाट प्रश्नहरु उठेका छन । यो तत्काल निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता दुखद घटना नदोहोरिने सुनिश्चितता गर्न सरोकारवाला सवैसँग युनिमी नेपाल जोडदार माग गर्दछ ।

अध्यक्ष
गोविन्द धिताल
मिति : २०७८ माघ ७ गते