जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १७:४९

खस्किएका आर्थिक सूचकको प्रधानमन्त्रीले गरे तर्कहीन बचाउ


काठमाडौं, माघ ७।  प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्नु भएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र प्रतिकुल अवस्थाबाट गुज्रिरहे पनि सुधारका लागि सरकारले अधिकतम प्रयास गरेको भन्दै त्यसको बचाउ गर्न भ्याउनु भयो ।

विद्युत् उत्पादनमा भएको वृद्धि तथा आर्थिक एवम् सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी, उच्च कर्जा प्रवाहजस्ता कारण आर्थिक वृद्धिदर गत वर्षको माथि हुने अपेक्षा गरिएको प्रधानमन्त्री देउवाले बताउनुभयो । तर पछिल्लो समय अर्थतन्त्रका आन्तरिक र बाह्य दुबै क्षेत्रबाट अर्थतन्त्रमा परेको चापलाई सरकारले गम्भीरताका साथ नलिएको देखिएको छ । प्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनका क्रममा अर्थतन्त्रमा केही समस्या देखिएको स्वीकारेपनि सुधारका लागि प्रयास भइरहेको भन्दै तर्कहीन बचाउ गर्नुभयो ।

‘यस अवधिमा मुद्रास्फीति ७ .११ प्रतिशतको हाराहारीमा पुगेको छ । यो सरकारले चालु आर्थिक वर्षका लागि मुद्रास्फीतिमा राखेको वाञ्छित सीमाभन्दा बढी हो । त्यस्तै, विदेशी मुद्राको सञ्चितीले ६.८ महिनाको मात्रै आयात धान्नसक्ने अवस्था रहेको छ,’ देउवाले भन्नुभयो, ‘अर्थतन्त्रमा बाह्य क्षेत्रको चाप पर्न गएपनि सरकारले लिएका वित्तीय र मौद्रिक नीतिले यसलाई सुधार गर्दै गएको छ ।’

पुस मसान्तसम्ममा राजस्व संकलन अपेक्षाकृत रहे पनि बजेट खर्च भने निकै न्यून देखिएको छ । विदेशी विनिमय सञ्चिती बढाउन तथा भुक्तानी सन्तुलन मिलाउनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिइएको ४७ अर्ब रुपैयाँ ऋणलाई पनि आफ्नो कार्यकालको उपलब्धीका रुपमो देउवाले पेश गर्नुभयो ।