जनता टाइम्स

७ माघ २०७८, शुक्रबार ००:००

स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य केन्द्र बन्द


तनहुँ, माघ ७ । तनहुँको भिमाद नगरपालिकाको भिमादस्थित प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १९ जनामध्ये १७ लाई कोरोना सङ्क्रमण भएको छ । कोरोना संक्रमणले केन्द्र बन्द गरिएको छ ।धेरैलाई सङ्क्रमण भएपछि स्वास्थ्य केन्द्र बन्द गर्नुपरेको केन्द्रका कर्मचारीहरुले बताउनुभयो ।

एकै पटक १७ जनालाई सङ्क्रमण भएकोले बन्द गर्नुपरेको भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनुराज बरालले जानकारी दिनुभयो ।बराल आफू पनि संक्रमित हुनुभएको छ । शाखामा कार्यरत चार जनामध्ये तीन जनालाई परिक्षण गर्दा पोजेटिभ आएको र एक जनालाई लक्षण देखिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकामा कार्यरत चिकित्सक तीन जना, अहेब तीन जना, अनमी ५ जना स्टाफ नर्स, फार्मेसी सहायक, रेडियो ग्राफर, वरिष्ठ ल्याव सहायक एक एक जना, कार्यालय सहयोगी दुई जना गरी १७ जनालाई सङ्क्रण भएको केन्द्रका वरिष्ठ ल्याव असिष्टेन्ट रुपक बुढाले जानकारी दिनुभयो ।

दुई जना नर्स मात्रै सुरक्षित रहनुभएकाले केन्द्रको सेवा बन्द गरिएको बुढाले जानकारी दिनुभयो । ‘‘शरीर दुख्ने, श्वास फेर्न कठिन हुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, स्वाद र गन्ध हराउनेजस्ता कोरोनो लक्षण देखिएपछि एन्टिजेन परिक्षण गर्दा मलाई पोजेटिभ भएको देखियो अन्यको परिक्षण गर्दा पनि सङ्क्रमण भएको पुष्टि भयो’’ बुढाले भन्नुभयो ।

स्वास्थ्य केन्द्रका प्रमुख डा। सागर घिमिरेद्वारा जारी सूचनामा कोरानो सङ्क्रमणको कारण कार्यालयको नियमित सेवा बन्द गरिएको उल्लेख गरिएको छ । गत तीन दिनदेखि कार्यालयमा कार्यरत सबै चिकित्सक, फार्मेसी, पारामेडिक्स स्टाफहरु, तीन जना नर्सिङ्गहरु, फार्मेसी, एक्सरे, आँखा उपचार कक्षका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।