काठमाडौं, ८ माघ । स्वास्थ्य मापदण्ड अपनाएर रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने सरोकारवाला व्यवसायीहरूले माग गरेका छन् । अन्य व्यवसाय, सवारी साधन चलिरहँदा स्मार्ट लकडाउन भन्दै माघ ३ गतेदेखि रात्रीकालिन, ‘लोकदोहोरी साँझ,डान्स रेष्टुरेण्ट, पव, वार’ व्यवसाय बन्द गराएपछि त्यसका सञ्चालक र त्यहाँ कार्यरत श्रमिकले रोजगारी गुमाएपछि राती मात्रै कोरोना सर्ने हो भन्दै प्रश्न गरेका छन् । व्यवसायीहरूले निश्चित मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।
सरकारले कोभिड–१९ को सङ्क्रमण दर बढेको भन्दै रात्रीकालिन व्यवसाय बन्द गराउँदा यस्तो व्यवसायमा कार्यरत करिब आठ लाख श्रमिकको परिवार समस्यामा परेका छन् । यसअघि पनि दुई पटक महामारी नियन्त्रण लागि भन्दै गरिएको बन्दावन्दी तथा निषेधाज्ञाको क्रममा पनि रात्रीकालिन व्यवसाय,‘लोकदोहोरी साँझ,डान्स रेष्टुरेण्ट, पव, वार व्यवसाय सञ्चालक र त्यहाँ रोजगारी गर्दै आएका जनशक्ति आर्थिक सङ्कटमा परेका थिए ।
महामारी सुरू हुँदा सरकारले सवभन्दा पहिला त्यस्ता व्यवसाय वन्द गराउँछन् भने खुल्ने बेलामा पनि तिनै व्यवसायलाई अन्य सबै व्यवसाय चलेपछि अन्तिममा मात्र खोल्न अनुमति दिंदा यस व्यवसायमा लगानी गर्ने सञ्चालक मात्र होइन, यसमा रोजगारी गरी परिवार पाल्ने वर्ग रोगले भन्दा पनि भोकले मर्ने समस्या बढि रहेको सरोकारवालाको भनाई रहेको छ । नगरकोट लोकदोहोरी साँझका सञ्चालक विनोद श्रेष्ठले कोभिड महामारी भन्दै व्यवसाय बन्द गराउँनुभन्दा त्यसबाट बच्ने उपाय अपनाएर खोल्न पाउनुपर्ने विचार व्यक्त गर्नुहुन्छ ।

उहाँले साँझ परेपछि मात्रै कोरोना रोग फैलिन्छ झैं गर्दै सरकारले रात्रीकालिन व्यवसायलाई विना विकल्प बन्द मात्र गराउनु समस्याको समाधान होइन, लगानीकर्ता र रोजगारी गर्नेलाई पनि गरिखाने वातावरण बनाउन रात्रीकालिन व्यवसाय सञ्चालनको लागि ‘निश्चित कार्यविधी’ बनाएर सञ्चालन गर्न दिनुपर्ने माग गर्नुभयो ।
यसअघि दुईपटक बन्द गर्दा व्यवसायीको लगानी मात्र डुवेको छैन, आत्महत्या गर्नेमध्ये यस क्षेत्रमा रोजगारी गुमाउने श्रमिक बढि परे भन्दै राष्ट्रिय लोकदोहोरी सङ्घका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले रोगबाट भाग्नु मात्र उचित विकल्प होइन, यसबाट बच्न सरकारले सुझाएको स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय चलाउन दिनुपर्ने माग गर्नुभयो । सरकारले बन्द गर भनेको भोलिपल्ट सामान्य तलब मात्र दिएर दुइसय पचासजना स्टाफलाई विदा गरेको छु, भन्दै उहाँले एक महिनाको तलबले उनीहरूको परिवार कति दिन चल्छ ? भन्ने प्रश्न गर्नुभयो ।
सञ्चालक श्रेष्ठले अन्य सबै व्यवसाय, सवारी साधनमा विना मास्क कोचाकोच गरी हिड्दा कोरोना नलाग्ने, रात परेपछि कोरोना लाग्ने सरकारको अदुरदर्शी निर्णयको शिकार यस क्षेत्र परेको भन्दै निश्चित मापदण्ड बनाएर व्यवसाय सुचारू गर्न दिन सरकारसमक्ष जोडदार माग गर्नुभयो । यस क्षेत्रको पेशा र व्यवसायलाई मर्यादित बनाउन सहयोग गर्दै आएको ‘विश्वास नेपाल’का अध्यक्ष तारा भण्डारीले विश्वव्यापी महामारीबाट सबैभन्दा बढि पीडित रात्रीकालिन वयवसायमा रोजगारी गर्ने वर्गले तेस्रो पटक पनि रोजगारी गुमाएको बताउनुभयो ।

कोरोनाले रोजगारी गुमाउने यस क्षेत्रका मजदुर रोजगारी बन्द भयो, हामी के गरी परिवार पाल्ने भन्दै चिन्तित हुन थालेको उहाँको भनाइ छ । सो संस्थाले यसभन्दा अगाडि भएको बन्दाबन्दीमा लाखौं श्रमिकलाई खाद्यान्न तथा विपत्मा मनोवल कायम राख्न भर्चुअल मनोपरामर्श सेवा समेत उपलब्ध गराएको थियो । काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष शुद्धकुमार डंगोलले उचित नीति बनाएर यस क्षेत्रका लगानीकर्ता तथा श्रमिकका लागि तत्कालका लागि टिकी खाने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस क्षेत्रमा भीड मात्र हुन्छ भन्ने सोचलाई चिर्दै, समय अनुसार सेवा प्रदायक र सेवा लिनेले आफु र अरूको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गर्न दिने वातावरणका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । व्यवसायी आषिस खड्काको अनुसार यस क्षेत्रमा ७० अर्बभन्दा बढिको लगानी छ, एकैजनाले २५ करोड समेत लगानी गरेको रात्रीकालिन व्यवसायलाई उचित नीतिमार्फत सम्वोधन नगर्ने हो भने व्यवसायी पलायन हुनुपर्दा रोजगारी गर्नेको परिवार, सञ्चालक मात्र घाटामा हुँदैन, राज्यले प्राप्त गर्ने राजस्वमा समेत कमि आउनेछ ।













प्रतिक्रिया दिनुहोस्