जनता टाइम्स

१० माघ २०७८, सोमबार १७:५६

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा


सुर्खेत, १० माघ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरण अनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ-ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ ।

हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८.२५ क्षेत्रफलमा जग्गा, बाँके जिल्लाको खजुरामा २ बिघा (करिब १० लाख बराबरको) जग्गा रहेको उल्लेख गरिएको छ ।

यो सम्पती सबै पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरेका छन् । चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।