जनता टाइम्स

१० माघ २०७८, सोमबार २०:०३

देउवालाई शेखर पक्षको चेतावनी : संबिधान भन्दा बाहिर गएर चुनाव सार्ने सहमति मान्य हुँदैन


काठमाडौं , माघ १० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकलौटी शासन लादेको भन्दै शेखर समूहले असन्तुष्टि पोखेको छ । नेता शेखर कोइरालाले सोमबार आफूनिकट नेताहरूसँग भर्चुअल संवाद गर्नुभएको थियो ।

छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी लगायत सहभागी हुनुभएको थियो । छलफलले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न नहुने निष्कर्ष निकालेका थिए । बैठकबाट समूहले निर्वाचनजस्तो राष्ट्रिय महत्वको विषय पार्टीको केन्द्रीय समितिमा छलफल नभइ गठबन्धनका नेताहरूमाझ मात्र सभापतिले सीमित गर्नु बिडम्वना भएको भन्दै पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापहरूमा पार्टीकोे केन्द्रीय समितिमा छलफल हुनुपर्ने माग राखेको छ । ‘पार्टीभित्र छलफल नगर्ने तर गठबन्धनका नाममा नेताको अनुकुल हुनेगरी प्रस्तुत हुने कुराको औचित्य छैन ।

संविधानभन्दा बाहिर गएर गठबन्धनमा सहमति गरिए मान्य हुँदैन’, बैठकमा शेखरले भन्नु भयो । संविधानभन्दा बाहिर गएर गठबन्धनमा सहमति गरिए मान्य हुँदैन’, बैठकमा शेखरले भन्नुभयो ।

बैठकले बैशाखमा स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ । ‘कांग्रेसको कुनै नेताले अघिल्लो चुनाव हारेको र अहिले संसदमा जान मन लागेको भरमा संविधानविपरीत जान मिल्दैन ।

पहिले स्थानीय निर्वाचन हुनुपर्छ अनि संसदीय निर्वाचन हुन्छ’, बैठकमा सहभागि एक नेताले भन्नुभयो ।बैठकमा १४ औं महाधिवेशनपछिको १ महिनाको अवधीको समिक्षा गरिएको थियो । सो क्रममा सबैजसो नेताहरुले सभापति देउवाले एकलौटी निर्णय गर्न थालेको, न्यायिक साझेदारी नगरेको र पार्टीभन्दा गठबन्धनलाई प्राथमिकता दिएको बताएका थिए ।