जनता टाइम्स

१२ माघ २०७८, बुधबार १०:२९

कर्णालीमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु, यस्तो छ मतभार


सुर्खेत, माघ १२ । कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार सुर्खेतस्थित दुईवटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब सुब्बा हिरानन्द पोख्रेलले बताए । ‘दुईवटा मतदान केन्द्रमा मतदान भइरहेको छ,’ उनले भने, ‘निर्वाचन अधिकृतसहित १८ जना कर्मचारीले निर्वाचनको काम गरिरहेका छन् ।’

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही लगायतले मतदान गरिसक्नु भएको छ । तीन सिटका नेकपा एमालेबाट तीन जना र गठबन्धनबाट तीनजना गरि ६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) अपाङ्ग, नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत) महिला, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) अन्यबाट उम्मेदवार बन्नुभएको छ भने, नेकपा एमालेबाट चुडामणी शर्मा (सुर्खेत) अपाङ्ग, पदबहादुर माझी (दैलेख) अन्य र गंगा थापा महत (जुम्ला) महिलाबाट राष्ट्रियसभा पदका लागि उम्मेदवार हुनुहुन्छ । मतदान सकिने विक्तिकै मतगणना जारी हुने र आजै नतिजा प्रकाशन गर्ने तयारी रहेको छ ।

यस्तो छ मतभार
कर्णालीमा प्रदेशसभाका ३५ सांसद र ७९ पालिकाका प्रमुखरउपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्ने छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुखरउपप्रमुख र प्रदेशसभाका सदस्यलाई मात्र छ ।

स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत नेकपा माओवादी केन्द्रसँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख-उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् ।

माओवादी केन्द्रमा स्थानीय तहबाट ९३६ र प्रदेशसभाबाट ५७६ मत गरी एक हजार ५१२ मत छ । नेकपा एमालेका स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । स्थानीय तहबाट ८१० र प्रदेशसभाबाट ६२४ मत हुन आउँछ । यो भनेको एमालेको कूल एक हजार ४३४ मत हो ।

नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख(उपप्रमुखको ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा स्थानीय तहका प्रमुख-उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन् । स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।