जनता टाइम्स

१२ माघ २०७८, बुधबार १३:१४

हेटौंडामा माओवादी सांसदले गरे सत्ताको दुरुपयोग


हेटौंडा, १२ माघ । बागमती प्रदेशमा राष्ट्रिय सभाको मतदानस्थलमा प्रदेश सांसदले निर्वाचन अधिकृतको कठालो समाएपछि लफडा भएको छ।
राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदको निर्वाचनमा मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिच्दा लफडा भएको हो। उहाँले फोटो खिच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मोबाइल खोसेको भन्दै माओवादी सांसद राज काजी श्रेष्ठले निर्वाचन अधिकृतको कठालो समाते र सत्ताको दुरुपयोग गरेको कर्मचारीले बताउनुभयो ।

हेटौंडा औद्योगित क्षेत्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । निर्वाचन प्रक्रिया दिउँसो ३ बजे सम्म हुनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने गरी तयारी रहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदमा ६ जनाको उम्मेद्वारी रहेको छ ।

सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना चुनावी प्रतिस्पर्धामा रहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामीको उम्मेद्वारी रहेको छ । यसैगरि,नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट कृष्ण तामाङ र गिता काफ्ले चुनावी मैदानमा छन्। निर्वाचनमा बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४७ जनाले मतदान गर्न पाउने छन् ।