जनता टाइम्स

१२ माघ २०७८, बुधबार १५:२०

प्रदेश १ का आठ जिल्लामा माओवादीले तोक्यो संयोजक, कुन जिल्लामा को ?


विराटनगर, माघ १२ । नेकपा माओवादी केन्द्रले प्रदेश १ का आठ जिल्लामा संयोजक तोकेको छ । मंगलबार प्रदेश राजधानी बिराटनगरमा बसेको माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठकले १४ जिल्लामध्ये आठ जिल्लामा संयोजक तोकेको हो ।

बैठकले खोटाङमा दीपक पाण्डे, उदयपुरमा विनोद कटवाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईलाई संयोजक तोकेको हो । बैठकले आफ्नै प्रदेश कार्यालयको भवन बनाउने निर्णय गर्दै कार्यालय इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई जिम्मेवारी दिएको छ । बैठकले निर्वाचन क्षेत्र तथा पालिका इन्चार्ज तोक्ने निर्णय पनि गरेको छ ।

माओवादीले आठौं महाधिवेशनले पारित गरेको कार्यक्रमअनुसार उत्पादन थाल्न तीनवटा कार्यदल समेत गठन गरेको छ । माओवादीले उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोग सम्बन्धि अध्ययन कार्यदल र अर्का उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्वेक्षण कार्यदल बनाएको हो।

बैठकले जनवर्गीय संगठन र मोर्चाको बाँकी सम्मेलन वडादेखि गर्दै वैशाखसम्म प्रदेश सम्मेलन गर्ने, पार्टी सदस्य संख्या थप १ लाख ५० हजारलाई वितरण गर्ने निर्णय पनि गरेको छ । यसैगरी बैठकले अधिवेशन गर्न बाँकी पालिकालाई माघ मसान्तसम्ममा सक्न निर्देशन दिएको छ ।