जनता टाइम्स

१२ माघ २०७८, बुधबार १५:५९

दायाँबायाँ नगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्छ : एमाले उपमहासचिव गुरुङ


पोखरा, माघ १२ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दायाँबायाँ नगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाउनु भएको छ । सबै तहको निर्वाचन एकै चरणमा हुन नसक्ने तथ्य राख्दै गुरुङले स्थानीय तहको निर्वाचन मिति अबिलम्ब घोषणा हुनुपर्ने बताउनु भयो ।

‘आलटाल नगरी स्थानीय निर्वाचनको मिति तोक्नतिर सरकार लाग्नुपर्छ, पहिले स्थानीय तहको निर्वाचन गरेर प्रदेश र संघीय संसदको निर्वाचन गर्नु नै सुल्टोबाटो हुन्छ,’ राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेपछि पोखरामा आज पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भन्नुभयो, ‘दायाँबायाँ नगरी आलटाल नगरी आफ्नो स्वार्थ नहेरि चुनाव गर्नुपर्छ ।’

गुरुङले एकै तहको निर्वाचन पनि एक चरणमा गर्न सम्भव नहुने भन्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भव नहुने पनि बताउनु भयो । ‘तीन तहको निर्वाचन एकै चरणमा सम्भव छैन, एक तहको त एक चरणमा हुन सक्दैन तीन तहको एकै चरणमा कसरी सम्भव हुन्छ ?’ गुरुङको भनाई छ ।

उपमहासचिव गुरुङले सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनका मतदाता पूर्वनिर्धारित भएकाले हारजित पहिले नै अनुमान गर्न सकिने भएकाले यो ताजा जनादेश जस्तो नहुने गुरुङले बताउनु भयो ।