जनता टाइम्स

१२ माघ २०७८, बुधबार १७:५४

एमालेका बराल र गठबन्धनका बस्नेतको भोट बराबरी, अब दुई विकल्प प्रयोग गर्ने


मोरङ, १२ माघ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ तर्फ कांग्रेस उम्मेदवार गोपाल कुमार बस्नेत र एमाले उम्मेदवार गुरुप्रसाद बरालको मत बराबरी भएको छ। पाँच दलीय गठबन्धनबाट उठेका बस्नेत र एक्लै भिडेको एमालेका बरालको मतभार ४४८८ बराबर आएको हो । उहाँहरु दुवैजना अन्यतर्फ उठ्नुभएको थियो । उहाँहरुलाई राप्रपाका अमरबहादुर विष्टले चुनौती दिनुभएको थियो ।

बस्नेतले प्रदेशसभाका ५० सांसदहरुबाट २४०० मतभार पाउनुभयो भने स्थानीय प्रतिनिधिहरूबाट ११६ जनाको २०८८ मत पाउनुभएको हो । बरालले प्रदेशसभाबाट ३८ सांसदहरुबाट १८२४ मत पाउनुभयो भने स्थानीय तहबाट १४८ जनाको २६६४ मत पाउनुभयो । यहाँ पनि दुवैको कुल मत बराबर छ।

मतभार बराबर आएपछि निर्वाचन आयोगले अब दुई विकल्प प्रयोग गर्ने भएको छ । अब आयोगले गोलाप्रथा वा फेरि निर्वाचनमा जानेबारे निर्णय लिनेछ । प्रदेश १ मा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पाले जित निकाल्नुभएको छ ।