काठमाडौं, माघ १२ । पाँच दलीय सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी स्थानीय तहको निर्वाचनलाई लिएर गठबन्धनमा मत विभाजित छ । कांग्रेसभित्रबाट स्थानीय तहको निर्वाचन बैशाखमै गर्नुपर्ने आवाज उठेको छ। सभापतिमा पराजित डा. शेखर कोइराला समूहले त बैशाखमै निर्वाचन गर्नुपर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको ट्रयापमा पर्न नहुने आवाज उठाईसकेको छ ।
कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि स्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा मान्य नहुने चेतावनी दिनुभएको छ । तर, गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) ले भने बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नहुने अडान लिएका छन् ।खासगरी प्रचण्डले तीनै तहको निर्वाचन आगामी मंसिरमा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ। दाहालको प्रस्तावमा प्रधानमन्त्री देउवा पनि सकारात्मक बनेको चर्चा छ ।
उता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि स्थानीय तहको निर्वाचनभन्दा अघि प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने पक्षमा खुल्न थालेको कुरा बाहिर आएका छन् । प्रधानमन्त्री देउवाले यो बीचमा कानूनविद्हरुसँग पनि परामर्श गर्नुभएको छ । उता, निर्वाचन आयोगले भने तत्काल निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको छ ।
प्रधानमन्त्री देउवा पनि स्थानीय तहको निर्वाचनको मिति तोक्नेगरि अघि बढ्नु भएको छ । तर, गठबन्धनमा आवद्ध दलका नेताहरु प्रचण्ड र माधव नेपालले भने स्थानीय तहको निर्वाचनको मिति तोकिए आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । उनीहरुले सरकार ढालिदिने पनि चेतावनी दिएको स्रोतको दाबी छ । सर्वोच्च अदालतको परमादेशपछि गठन भएको यो सरकार संसद्को पूरा कार्यकाल चल्नुपर्ने आवाज पनि उठेको छ । प्रधानमन्त्री देउवा भने पार्टी र गठबन्धनका नेताहरुको छुट्टाछुट्टै दबाबमा पर्नुभएको छ । यता आज भएको राष्ट्रिय सभाको निर्वाचन पछि अब कुनै पनि निर्वाचनमा सत्ता साझेदार पार्टीसंग तालमेल नगरिने कुरा नेपाली काँग्रेसले बताउदै आएको छ ।













प्रतिक्रिया दिनुहोस्