जनता टाइम्स

१३ माघ २०७८, बिहीबार १९:१०

राष्ट्रियसभा चुनावमा फ्लोर क्रस गर्नेहरुलाई एमालेले कारवाही गर्ने


काठमाडौं, माघ १३। राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरुलाई नेकपा एमालेले कारवाही गर्ने भएको छ ।बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मत नहाल्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गरिने एमाले प्रदेश १ कार्यालयले जनाएको छ ।एमालेकै जनप्रतिनिधिहरुले भोट नहाल्दा गुरु बराल पराजित हुनुभएको थियो ।

नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले पार्टीमाथि अन्तरघात गर्नेलाई कारवाही हुने बताउनुभएको छ । उहाँले विज्ञप्तीमा भन्नुभएको छ , ‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढसंकल्पित छ ।’

बराललाई एमालेकै जनप्रतिनिधिहरुले मत नहाल्दा गोलाप्रथाबाट पराजित हुनुभएको हो । गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार बरालले समान ४४८८ मत प्राप्त गर्नुभएको थियो ।