काठमाडौं, माघ १४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचनलाई धकेल्न खोजेको बताउनुभएको छ ।
उहाँले निर्वाचनलाई टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको बताउनुभयो । बाँकेको खजुरामा शुक्रबार सामूहिक आवास उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले गठबन्धनको सरकार स्थानीय तहको निर्वाचन गर्न हिचकिचाएको बताउनुभयो । ‘जनताको बीचमा जान यो गठबन्धन सरकार डराइरहेको छ, सरकार जनताको काम गर्नभन्दा पनि एमालेकाविरुद्ध लागिपरेको छ,’ उहाँले भन्नुभयो ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले एक सय दिन सरकार बनाउनमै बितायो।’ महासचिव पोखरेलले मूल्य वृद्धि अहिलेसम्म कै उच्च बिन्दुमा पुगेको र व्यापार घाटा बढ्दो क्रममा रहेको जिकिर गर्नुभयो ।
आर्थिक तरलता बढ्दै जाँदा देशमा आर्थिक संकट पर्ने संकेत देखिएपछि बैंकहरु लगानी गर्न नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । ‘विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भन्दै महासचिव पोखरेलले देश अगाडि बढाउन बलियो शक्ति निर्माण गर्न जरुरी भएको धारणा ब्यक्त गर्नुभयो । सामाजिक न्यायको पक्षमा एमाले स्थापित भएको पोखरेलको जिकिर छ ।













प्रतिक्रिया दिनुहोस्