जनता टाइम्स

१८ माघ २०७८, मंगलवार १६:०५

भीम रावलले बाबुरामलाई फर्काए कठोर जवाफ


काठमाडौं, माघ १८ । एमाले नेता भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने जवाफ दिनुभएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर भट्टराई-रावल आरोप प्रत्यारोप चलेको छ । रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पिएचडीमाथि नै प्रश्न उठाउनु भएको थियो

बाबुरामले लेखेका थिए, ‘यी कण @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन् । विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ। उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहॉ, कसरी खुलाउनु पर्दैन? कि यी नक्कली PhD हुन् ?’

त्यसको जवाफ दिँदै मंगलबार रावलले लेख्नुभएको छ ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन। एजम् नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट एजम् कसैको नक्कली हुने चर्चा नै हुन्न।’ स्मरण रहोस् बाबुरामले भारतको जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो ।