जनता टाइम्स

१९ माघ २०७८, बुधबार १३:०१

माधवकुमार नेपाललाई भेटेर फर्किए गृहमन्त्री खाँण, प्रचण्ड आइपुगे बालुवाटार


काठमाडौं, १९ माघ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्नुभएको छ । खाँणले आज बिहान अध्यक्ष नेपालको निवास कोटेश्वरमै भेट्नुभएको हो । नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार भेटमा खास विषयमाथि कुराकानी भएको छैन ।

उहाँले भन्नुभयो, ‘यो नियमित भेटघाट हो । खास विषय केही थिएन ।’ तर निर्वाचन आयोगले सरकारलाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन मिति सिफारिस गरेकोप्रति माधवकुमार नेपाल सन्तुष्ट हुनुहुन्न ।

उहाँको चाहना भने आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्नु पर्ने भन्ने छ । यसैकारण गृहमन्त्री खाँणले निर्वाचन मिति तोक्नुअघि नेता नेपालसँग राय सल्लाह लिएको स्रोतको दाबी छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार पुग्नुभएको छ ।