जनता टाइम्स

१९ माघ २०७८, बुधबार १४:२५

सर्प उद्दारकर्तालाई नै कोब्राले टोकेपछि …


नयाँ दिल्ली, १९ माघ । भारतमा सर्पको उद्दार गर्ने काममा ख्याति कमाएका एक व्यक्ति सर्पकै टोकाइबाट गम्भीर घाइते भएका छन् । १० फिट लामो किङ कोब्राको उद्दार गर्ने क्रममा त्यसले टोक्दा उनको अवस्था गम्भीर भएको हो । केरलाका ४८ वर्षीय भाभा सुरेशलाई तमिल नाडुमा कोब्राको उद्दार गर्ने क्रममा सोही कोब्राले तिघ्रामा टोकेको थियो । एक स्थानीयले सार्वजनिक गरेको एउटा भिडियोमा कोब्रालाई बोरामा राख्ने क्रममा सुरेशको दायाँ तिघ्रामा टोकेको देखिन्छ ।

टोकाइका बाबजुद उनले हतारमा कोब्रालाई बोराभित्र राख्छन् । तर, केही बेरमै उनी अचेत भएर भुइँमा ढल्छन् । तत्कालै अस्पताल भर्ना गरिएको उनको अहिले आईसीयूमा उपचार भइरहेको छ । सुरुमा कोटायामको मेडिलकल कलेजमा भर्ना गरिएका उनको मुटुले २० प्रतिशत मात्र काम गरेपछि थप उपचारका लागि अर्को अस्पताल लगिएको छ । उनको अचेत अवस्थामा आईसीयूमा उपचार भइरहेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

सर्पको उद्दार गर्ने दुई दशक लामो पेसामा आफूले हजारौं सर्पको उद्दार गरेको र सयौं पटक सर्पले टोकेको उनले बताएका थिए । सोमबार कोब्राको उद्दार गर्न जानुअघि उनी सर्पको टोकाइका कारण अस्पतालमा उपचार गरेर फर्किएका थिए । कुरिचवाईको एउटा परिवारले गोठनजिक सर्पदेखेपछि उद्दार गर्न सुरेशलाई खबर गरेका थिए । यसअघि सन् २००५ मा पनि कोब्राले टोक्दा सुरेशको चोर औंला गुमाएका थिए ।