जनता टाइम्स

१९ माघ २०७८, बुधबार १९:१८

कति सकस छ यो सरकारलाई !


राष्ट्रिय अखण्डतामाथि छिमेकिले धावा बोल्दा
नेपाल आमाको अस्मितामाथि
खुनी नंघ्राले आक्रमण गर्दा
चूँसम्म बोल्न सकेको छैन सरकार !
कति सकस छ यो सरकारलाई !
सर्पको डर छँदैछ भ्याकुतालाई
तरवारको भय उस्तै छ घाँटीलाई
तरपनि मालिकको आदेश मान्नैपर्ने
परमादेशलाई शिरोधार्य गर्नैपर्ने
कति सकस छ यो सरकारलाई !

टिका पौडेल

कति सकस छ, यो सरकारलाई !
आंफैमा यो सरकार केही गर्न सक्दैन ।
न पछि सर्न सक्छ न अघि बढन सक्छ,
न दायाँ बढन सक्छ न बायाँ सर्न नै सक्छ ।
रिमोर्ट कन्ट्रोलबाट बनेको यो सरकार
परमादेशबाट जन्मेको यो सरकार ।
स्वचालित बन्ने शक्ति गुमाइसकेको यो सरकार
सञ्चालित बन्नु पर्दाको पीडा !
कति सकस छ यो सरकारलाई !

बिपरीत तत्वबीचको एकता
सर्प र भ्याकुताहरूको मिलन
अनि तरवार र घाँटीको नक्कली हार्दिकता !
सर्पको डर छँदैछ भ्याकुतालाई
तरवारको भय उस्तै छ घाँटीलाई
तर पनि मालिकको आदेश मान्नैपर्ने
परमादेशलाई शिरोधार्य गर्नैपर्ने
कति सकस छ यो सरकारलाई !

मुलुकको समृद्धि र स्थिरताको बिरुद्ध
अँध्यारो कोठाभित्रका काला अघोषित सम्झौताहरु
मान्नु परेको छ यो सरकारलाई !
सन्तान जन्माउने शक्ति गुमाइसकेको अवस्थामा पनि
गैर प्राकृतिक ढंगबाट
टेस्टटयूब बेबी बनेर जन्मिएको सरकार ।
जन्मजात पाँच टाउका र दश हात लिएर
जन्मिएको यो सरकार
कता जाने हो ? उदेश्यबिहीन छ ।
कति सकस छ यो सरकारलाई !

राज्य सञ्चालनका सबै निकायहरु
अस्तब्यस्त पारेको छ ।
संबिधानलाई आफूखुसी ब्याख्या गरेको छ ।
लोकतन्त्रको धज्जी उडाएको छ ।
फेल भएकाहरूको नम्बर जोडेर
प्रथम भएँ भन्नु परेको छ ।
जनमतमा जाने कुरा फलामको च्यूँरा भएको छ ।
कति सकस छ यो सरकारलाई !

राष्ट्रिय अखण्डतामाथि छिमेकिले धावा बोल्दा
नेपाल आमाको अस्मितामाथि
खुनी नंघ्राले आक्रमण गर्दा
चूँसम्म बोल्न सकेको छैन सरकार !
कति सकस छ यो सरकारलाई !
सर्पको डर छँदैछ भ्याकुतालाई
तरवारको भय उस्तै छ घाँटीलाई
तरपनि मालिकको आदेश मान्नैपर्ने
परमादेशलाई शिरोधार्य गर्नैपर्ने
कति सकस छ यो सरकारलाई !

समयको चक्र एकैनास कहाँ हुन्छ र ?
मालिकको स्वार्थ पूरा भएपछि
गठबन्धनका टाउकाहरु आफै लडने छन !
तरबारहरु घाँटीबिरुद्ध बढनेछन
सर्पहरु भ्याकुताको शिकार गर्नेछन ।
त्यतिबेला ठुलो क्षती भैसकेको हुनेछ ।
कति सकस छ यो सरकारलाई !!