जनता टाइम्स

२० माघ २०७८, बिहीबार १९:२०

ग्यारेजमा लागेको आगोले स्करपियो र मोटरसाइकल ध्वस्त


उदयपुर, २० माघ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–११ पुरानो तरकारी बजार नजिकै स्कारपियो र मोटरसाईलकमा आगलागी भई ध्वस्त भएका छन् । त्रियुगा नगरपालिका ११, गाईघाटका कालीदास राई (किसन) को ग्यारेजमा राखिएका स्करपियो र मोटरसाईकल आज बिहान अन्दाजी साढे १२ बजे आगलागी भई नष्ट भएका हुन् ।

आगलागीबाट प्रदेश १–०२–००२ च ४३८५ नम्बरको स्कारपियो र स ३ प २२८३ नम्बरको एभेन्जर मोटरसाईकल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । साढे ३ तले घरको दक्षिणपटि ग्यारेजमा राखिएका दुवै साधनमा एकैचोटी आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

गाडीधनी राईले बिहान झण्डै १ बजे मस्त निन्द्रामा रहेका बेला चर्को आवाज सुनेपछि व्युँझिएर हेर्दा धुँवाको मुस्लो देखेको बताउनुभयो । भुईमा झरेर हेर्दा ग्यारेजमा राखिएका दुवै साधनमा आगो बलिरहेको पाएपछि छिमेकी र प्रहरीलाई खवर गर्नुका साथै दमकल बोलाएर आगो नियन्त्रणमा लिएको थियो ।

छिमेकी र प्रहरी घट्नास्थल आउँदासम्म दुवै साधन आगोले ध्वस्त भईसकेको उहाँले बताउनुभयो । त्रियुगा नगरपालिकाबाट आएको दमकलले एक घण्टा लगाएर आगो नियन्त्रणमा लिए पनि दुवै साधन कामै नलाग्ने गरी ध्वस्त भएका छन् । आगोले टिनले छाएको ग्यारेजको छानोको बला र सरा पनि डढेर नष्ट भएका छन् भने छेउमै रहेको चिरान काठहरु समेत जलेका छन् ।

पीडित राईले आगजनीबाट ६० लाख हाराहारी क्षति भएको बताउनुभयो । झण्डै एक वर्ष अघि किनेको ५५ लाखको स्कारपियो जीप र ४ वर्ष अघि किनेको साढे ३ लाखको एभेन्जर मोटरसाईकल, ग्यारेज र काठ जलेर क्षति पुगेको उहाँको भनाई छ । घरकै ग्यारेजमा पार्किङ गरि राखिएका साधनमा आगो लाग्नुको कारण थाहा नभएको बताउनुभयो ।

घट्नाबारे अहिलेसम्म यकिन हुन नसकेकाले प्रहरीले अनुन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी सुभाषचन्द्र बोहराले आगो कुनै आपराधिक मानसिक्ताका व्यक्तिले लगाएर वा विद्युत सर्ट भएर हो भन्ने बारे अनुसन्धान भईरहेको बताउनुभयो । घट्नामा संलग्न भएको आशंकामा एक युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएका छन् ।