काठमाडौं, २१ माघ । आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको भूमिकाका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन नगरे कमल थापाले विकल्प खोज्ने हुनुभएको छ । एकता महाधिवेशनमा पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएकोे भन्दै असन्तुष्ट रहँदै आउनुभएको निवर्तमान अध्यक्ष थापाले आफूले राखेको मागमा छानबिन नभएमा विकल्प खोज्ने तयारीमा लाग्नुभएको हो ।
आज दिउँसो विशालनगरस्थित थापा निवासमा उहाँ पक्षका राप्रपाका शीर्ष नेताहरुबीच छलफल जारी छ । ‘कमल थापाज्यूले राप्रपाको राजनीतिमा निर्मल निवास र पूर्वराजाबाट भएको हस्तक्षेपका बारेमा छानबिनको माग गर्नुभएको छ, सो बारेमा छानबिन नभएमा विकल्पबारे स्वाभाविक रुपमा छलफल हुनेछ,’ थापा निकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भन्नुभयो । उहाँका अनुसार ‘पार्टी नै विभाजन गर्ने गरी’ छलफल नभए पनि अन्य विकल्पमा जानुपर्नेमा अधिकांश नेताले राय र सुझाव दिइरहेका छन् ।
गत १५–१८ मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी हुनुभएको थियो । आफू पराजित भएपछि थापाले ‘पूर्वराजाले राप्रपामा हस्तक्षेप गरेको’ सार्वजनिक आरोप लगाउँदै आउनुभएको छ । थापाले सो विषयमा छानबिन गर्न मंसिर र माघमा गरी दुईपटक अध्यक्षलाई पत्र लेखिसक्नुभएको छ । थापाले पहिलोपटक २७ मंसिर र दोस्रोपटक १६ माघमा अध्यक्ष लिङ्देनलाई पत्र लेखी औपचारिक आग्रहसमेत गर्नुभएको थियो ।
‘मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्न तथा त्यसबारे आवाश्यक संशोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पठाएको छु,’ थापालाई लिङ्देनलाई लेखेको पत्रमा भन्नुभएको थियो, ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।’
लिङ्देनले पाँच वर्ष पार्टी हाँक्ने विषयलाई समर्थन जनाउँदै थापाले ‘सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईको मुख्य जिम्मेवारी हो’ भन्दै लेखेको पत्रलाई सम्बोधन नगरेको भन्दै असन्तुष्ट हुनुहुन्छ । कोभिड–१९ को संक्रमणबाट भर्खरै मुक्त भएका थापाले ‘पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होइन’ भन्ने प्रस्टाउने कोसिस गरे पनि लिङ्देनले थापाको मागलाई केन्द्रीय कार्यसमितिमा छलफलको एजेन्डा अझै बनाउनुभएको छैन ।
त्यसैले थापाले विकल्पबारे छलफल र सरसल्लाह गरिरहेको उहाँ निकट नेताहरू बताउँछन् । महाधिवेशन सम्पन्न भएको दुई महिनामा राप्रपाको एकपटक मात्र केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको छ । ‘पहिलो केन्द्रीय कार्यसमिति बैठकमै महाधिवेशनमा निर्मल निवास र पूर्वराजाको भूमिका र हस्तक्षेपलाई लिएर प्रश्न उठाएका थियौं, तर अध्यक्षज्यूले केही जवाफ दिनु भएन,’ थापा निकट एक पदाधिकारी भन्नुहुनछ, ‘व्यक्तिगत रूपमा हामीले र कमलजीले औपचारिक रूपमा माग गरे पनि कुनै सुनुवाइ भएको छैन् ।’ निर्मल निवासको विषयले राप्रपाको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ ।













प्रतिक्रिया दिनुहोस्