जनता टाइम्स

२१ माघ २०७८, शुक्रबार १६:३९

माओवादीलाई ठूलो झडका, बागलुङका हस्ती बाबुराम नेपालीले रोजे एमाले


बागलुङ, माघ २१ । बामपन्थी आन्दोलनका पुराना नेता बाबुराम नेपाली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले बागलुङ जिल्ला कमिटीको पहिलो बैठकमा पुराना नेता नेपाली एमालेमा प्रवेश गर्नुभएको हो ।

नेपालीलाई नेकपा एमालेका उपमहासचिव एवं केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख पुथ्वी सुब्बा गुरुङ, एमाले सचिव एवं गण्डकी इञ्चार्ज पद्मा अर्यालसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ । बागलुङमा रहेर राजनीति गर्दै आउनु भएका नेपाली पछिल्लो समय नेकपा माओवादी केन्द्रका आवद्ध हुनुहुन्थ्यो ।

राष्ट्रिय जनमोर्चामा रहेर लामो समय गाविस अध्यक्ष बन्नुभएका गल्कोट ११ रिघा निवासी नेपाली त्यसपछि माओवादी केन्द्र प्रवेश गर्नुभएको थियो । तत्कालिन समयमा नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपामै रहनुभएका उहाँ शुक्रबार औपचारिक रुपमा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले प्रवेश गर्दै नेपालीले कम्युनिष्टका नाममा साना साना झुपडीको आवश्यकता नरहेको भन्दै अब एउटै कम्युनिष्ट पापर्टीले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालीले नेकपा एमालेले मात्रै मुलुकको समृद्धिको नेतृत्व लिन सक्ने भएको कारण आफूले एमाले रोजेको बताउनु भयो ।