जनता टाइम्स

२१ माघ २०७८, शुक्रबार १७:२५

लमजुङमा पुनः हिमपात, जनजीवन प्रभावित


लमजुङ २१ माघ । लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ । भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी हिमपात भएको हो । हिमपातका कारण घरबाट बाहिर निस्कन समेत कठिन भएको छ ।

घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिमपात भएको घलेगाउँकी काशी घलेले बताउनुभयो । यस्तै लमजुङको बेसीशहर नगरपालिका–१० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ । कल्मे डाँडामा पनि बिहीबार रातिबाट हिमपात भएको पिसहिलका व्यवस्थापक होमलाल तामाङले बताउनुभयो ।

घलेगाउँ, पिसहिलसहित मर्स्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ पुर्वीभेगका दुधपोखरी, बराहपोखरी, मेमेपोखरी लगायतका उच्च पहाडी भेगमा बिहीबार दिउँसोदेखि हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित भएको घनपोखराका कमला गुरुङले बताउनुभयो ।