काठमाडौं, माघ २२ । चर्चित भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित शुक्रबार सिन्धुलीमा पक्राउ परे। मोडिफाई गरिएको मिनीट्रक देखेपछि प्रहरीले शंका लागेर जाँच गर्दा ब्राउन सुगर र गाँजा फेला परेको थियो ।
कार्की स्वयम्ले चलाएको उक्त मिनीट्रक निकै सुविधासम्पन्न थियो । सिन्धुली प्रहरी प्रमुख गोविन्द थपलियाका अनुसार ३७ वर्षीय कार्कीले उक्त मिनीट्रक युट्युबबाट कमाएको ४० लाख रुपैयाँमा किनेको बताएका छन् । उनले भ्लग बनाउने प्रयोजनका लागि मिनीट्रक लिएर विभिन्न ठाउँ जाने गरेको बताएको एसपी थपलियाले बताउनुभयो । मिनीट्रकको अगाडिपट्टि सिसिटिभी जडान भएको छ भने ड्राइभर बस्ने ठाउँभन्दा माथि सुत्ने कोठा तयार गरिएको देखिन्छ।
मिनी ट्रकको एकातर्फ सोलार जडान गरिएको छ भने पछाडिपट्टि ग्याँस सिलिण्डर राखिएको छ। गाडीभित्रै कार्यालय सन्चालनका लागि कोठासमेत बनाइएको छ। सुत्नेदेखि खाने ठाउँ र भित्रै दिसापिसाव गर्ने व्यवस्था पनि मिनीट्रक भित्रै रहेको एसपी थपलियाले बताउनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कार्कीले आफू धरान पुगेर आएको बताएका छन्। ‘घुमघाम गरेर आएको बताएका छन्। उनका अनुसार आउँदा बाटामा दुई ग्राम ब्राउन सुगर सेवन गरेका थिए’, थपलियाले भन्नुभयो । प्रहरीले कार्कीको साथबाट ४ ग्राम ब्राउन सुगर र ७ ग्राम गाँजा पनि बरामद गरेको छ।
कार्की नेपालका चर्चित भ्लगर मानिन्छन्। उनको चेतन भ्लग्स क्याम्पर स्टुडियो नामक युट्युब च्यानल शुक्रबार साँझसम्म ५ लाख ७० हजारले सस्क्राइब गरेका छन्। उनले पछिल्लोपटक तीन साताअघि अन्तिमपटक भ्लग अपलोड गरेका थिए। प्रहरीसँग उनले आफ्नो यहीं मिनी ट्रकमा चढेर वर्ल्ड टुरको योजना रहेको पनि बताएका छन्।













प्रतिक्रिया दिनुहोस्