काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषयमा देउवा र प्रचण्डबीच चर्काचर्की भएको हो ।देउवा र प्रचण्डबीच टेलिफोन वार्तामा एमसीसीबारे छलफल हुँदा एक अर्कामाथि आक्रोश पोखेको बुझिएको छ ।
देउवाले आज साँझ डाकेको मुख्य दलको बैठकमा प्रचण्डले आउन नसक्ने जवाफ दिनुभएको छ । उहाँले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएकोमा देउवासँग असन्तुष्टि पोखेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार प्रचण्डले पत्र लिक गरेकोमा प्रश्न उठाउनु भएको छ । यसले दुई नेताबीच चर्काचर्की भएको थियो ।देउवासँगको टेलिफोन कुराकानी गर्दै प्रचण्डले बालुवाटारमा साँझ डाकेको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत सहभागी भए मात्र आफू आउने जवाफ दिनुभएको हो । तर, माधव नेपाल सहभागी भए ओली अनुपस्थित हुने भएबाट देउवा तयार हुनुभएन ।
प्रचण्डले देउवासँग एमसीसी संशोधनविना पारित गर्न तयार नहुने जवाफ दिएको बुझिएको छ । तर, देउवाले एमसीसी संशोधनका लागि अमेरिका नमानेको संकेत गरेपछि प्रचण्डले गठबन्धन तोडिने संकेत गर्नुभएको छ । उहाँले एमसीसीको पक्षमा जान नसक्ने स्पष्ट जवाफ दिदै गठबन्धन छाड्न तयार भएको जवाफ दिनुभएको थियो । एमसीसीलाई देउवा र प्रचण्डले लेखेको पत्र लिक भएपछि राजनीतिक वृत्तमा तरंग आएको छ । यसले गठबन्धन नै धरापमा परेको छ ।













प्रतिक्रिया दिनुहोस्