जनता टाइम्स

२५ माघ २०७८, मंगलबार १४:४०

कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा


काठमाडौं, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । आज मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएको दाबी गर्दै त्यो राम्रो नभएको बताउनुभयो । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा थापाले यसबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने बताउनुभयो । थापाले सोमबार राजधानीमा आफूपक्षीय नेताको भेला राखेर आफ्नो माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गर्र्नुभएको थियो । उहाँले माग सम्बोधन नहुने हो भने आफूले विकल्प खोज्ने पनि बताउनुभएको थियो ।

निर्मल निवासले पार्टीलाई नितान्त राजसंस्था पुनःस्थापना गर्ने भजन मण्डली बनाउने प्रयास गरेको आरोप लगाउनुभएका थापाले निर्मल निवासले पार्टीको निर्वाचनमा गरेको हस्तक्षेपको उद्देश्य यही भएको जिकिर गर्दै आउनुभएको छ । निर्मल निवासले आफूलाई हराएर राजेन्द्र लिङ्देनलाई जिताउने काम मात्रै गरेको नभइ धेरै प्रश्नहरु पनि जन्मिएको उहाँले बताउँदै आउनु भएको छ । ‘हामीले परिकल्पना गरेको राजसंस्थाले अरु पार्टीलाई हस्तक्षेप गर्दैन ।

तर निर्मल निवासको हस्तक्षेपको प्रयोजन के हो ? केन्द्रीय नेतृत्वले सही ढंगले विश्लेषण गर्न सकेन भने त्यो दुर्भात्यपूर्ण हुन्छ’,थापाले सोमबारको भेलामा भन्नुभएको थियो , ‘राजसंस्था मान्ने पार्टीलाई त यो हिसावले हस्तक्षेप हुन्छ भने राजसंस्था पुनःस्थापित भएको खण्डमा अन्य दललाई कस्तो हस्तक्षेप होला ?’