जनता टाइम्स

२७ माघ २०७८, बिहीबार १८:३१

बालश्रमको अन्त्यको उद्देश्यले दुईदिने ‘राष्ट्रिय सङ्गोष्ठी’


काठमाडौं, २७ माघ । बालश्रमको अन्त्यको उद्देश्यले दुईदिने ‘राष्ट्रिय सङ्गोष्ठी’को आयोजना गरिएको छ । स्वतन्त्रता अभियान नेपालले विश्व शिक्षालगायतका संस्थासँगको सहकार्यमा आयोजित सङ्गोष्ठीमा आज विभिन्न शीर्षकमा समुहगत छलफल गरिएको छ । त्यस्तै भोली पनि विभिन्न विषयमा छलफल हुनेभ भएको छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव गुरूदत्त सुवेदीले बालश्रम अन्त्यका लागि हरेक क्षेत्र, समाज परिवारले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भविष्यका कर्णधार बालबालिकाले पाउनुपर्ने उचित वातावरणका लागि हरेक नागरिक जिम्मेवार भएर बालश्रमको अन्त्य गर्न लागिपरे दीगो विकास लक्ष्यले निर्धारण गरेको समयसिमाभन्दा अगाडि नै कम्तिमा दुई वर्षमै बालश्रमको अन्त्य हुने पनि बताउनुभयो ।

उहाँले नेपालमा जे कामका लागि पनि ऐन,नीति र कार्यनीति बन्ने चलन छ, तर तिनको कार्यन्वयनका लागि भने हामी तयार हुँदैनौं, बालश्रमको अन्त्यका लागि यस्ता धेरै नीति आएका छन्, अब व्यवहारमा परिवर्तन ल्याउन ऐक्यवद्ध होऔं भन्नुभयो ।

स्वतन्त्रता नेपाल अभियानका कार्यकारी सचिव रितु भट्ट राईले केन्द्रीय तथ्याङ्क विभागको सन् २०२०को तथ्याङ्क अनुसार अझै पनि एघार लाख बालबालिका विभिन्न क्षेत्रमा बालश्रम गरिरहेका छन्, बालश्रमको अन्त्य गर्ने सरकारको लक्ष्य र दीगो विकास लक्ष्यले सन् २०३० सम्ममा बालश्रमको अन्त्य गर्ने लक्ष्य पुरा गर्न सरकार र नागरिक समाजको साझेदारी आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले विगतमा नेपालमा २६ लाख बालबालिका बालश्रममा थिए, सोह्रलाख हुँदै अहिले ११ लाखमा झर्नुमा सरकारले ल्याएका राम्रा नीति र बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थालगायत सचेत नेपालीको महत्वपूर्ण योगदानको नतिजा हो भन्नुभयो ।

उहाँले बालबालिका बालश्रममा जानबाट रोक्नलाई बालबालिका आश्रित परिवार सबल हुुनुपर्नेमा जोड दिंदै बालबालिकाले श्रम गर्नुपर्ने कारक समस्याको समाधानका लागि पनि सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा विश्व शिक्षाका राष्ट्रिय निर्देशक हेलेन शेर्पाले कोरोना महामारीका कारण पनि अभिभावक गुमाएका, घरको आर्थिक अवस्था कमजोर हुँदा बालबालिका श्रममा धकेलिने अवस्थामाथि ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय कार्य संयोजन समुहका अध्यक्ष बेनुमाया गुरूङले महामारी, प्राकृतिक विपत्तीलगायतका विपत्बाट प्रभावित परिवारका बालबालिका बढि जोखिममा पर्ने भएकोले त्यस्ता परिवारमा आश्रित बालबालिकाको शिक्षा,परिवारको रोजगार बास, कपासलगायतका आवश्यकता परिपूर्तिका लागि स्थानिय तहले बढि ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरूले इट्टाभट्टा, गलैंचा कारखाना र मनोरञ्जनको क्षेत्रमा बालश्रम जारी रहेको बताएका थिए ।