जनता टाइम्स

२८ माघ २०७८, शुक्रबार १७:३०

एमसीसीमा दलीय सहमति नभए संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्छ : कोइराला


काठमाडौं, २८ माघ । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता शेखर कोइरालाले लिखित प्रस्ताव प्रस्तुत गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उहाँले अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सकेसम्म दलीय सहमति नभए संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्ने मागसहितको लिखीत प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

एमसीसीको बिषय टुंगो लगाउन नसके सरकार, गठबन्धन र कांग्रेसमाथि प्रश्न उठ्ने उहाँले जनाउनुभयो । सकेसम्म सहमति नभए संसदीय प्रक्रियाबाट अनुमोदन गर्नुपर्नेमा उहाँले जोड दिएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘नेता कोइरालाले बैठकमा लिखित प्रस्ताव मार्फत अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन पार्टीको विधानअनुसार फागुन १० गतेभित्र गर्न माग राख्नु भएको छ ।’

यस्तै म्याद समाप्त भएका भातृ संघ तथा सुभेच्छुक संस्थाको विधान अधिवेशन प्रक्रिया पनि सुरु गरिहाल्न नेतृत्वलाई सुझाव दिनुभएको छ । नेता कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेस कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्न पनि प्रस्ताव राख्नुभएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि कोइराला समूहले बैठकमा प्रस्तुत गर्ने रणनीतिबारे छलफल गरेको थियो ।