जनता टाइम्स

२९ माघ २०७८, शनिबार ०७:२८

१० महिनादेखि कार्यालय नटेकेका उड्डयन प्राधिकरणका उपनिर्देशक बजगाईँलाई सेवाबाट हटाउने चेतावनी


काठमाडौं, २९ माघ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईँलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । १ वैशाख ०७७ बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईँलाई सात दिन भित्र सफाइ पेश गर्न अन्तिम पटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको हो ।

सात दिनभित्र चित्त बुझ्दो जवाफ पेस नगरे बजगाईँलाई सेवाबाट हटाइने सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । बजगाईँलाई स्पष्टिकरण पेश गर्न गत वर्ष नै निर्देशन दिइएको थियो ।

तर, उहाँले जवाफ नै दिनुभएन, बरु कार्यालय नै जान छाड्नुभयो । त्यसपछि प्राधिकरणले १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनः स्पष्टिकरण माग गरिएको थियो । उहाँले लामो समयसम्म जवाफ पेश नगरेपछि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।