जनता टाइम्स

२९ माघ २०७८, शनिबार १४:३९

एमसीसीबारे गठबन्धनमा जुटेन सहमति


काठमाडौँ, माघ २९ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच कुनै पनि सहमतिबिना बैठक सकिएको छ ।शनिबार बालुवाटारमा भएको छलफलमा एमसीसीबारे कुनै पनि निष्कर्ष बिना सकिएको छ ।एमसीसी अनुमोदन गर्ने कि नगर्नेबारे सत्ता गठबन्धनका दलहरु आफ्नै अडानमा रहेपछि अन्योल बनेको हो ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भए पनि सहमति भएन ।

प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने बताए पनि प्रचण्ड र नेपालले निर्णय नदिएको बताइएको छ ।अमेरिकाले यही फेब्रअुरीको अन्तिमसम्म एमसीसीबारे अनुमोदन गर्न नेपाललाई ‘डेडलाइन’ दिएको छ ।त्यति मात्रै होइन अमेरिकी विदेशमन्त्रीदेखि राजदूतसम्मले नेपालका नेताहरुलाई एमसीसी पारित गर्न दवाव दिएका छन् ।