जनता टाइम्स

२९ माघ २०७८, शनिबार १८:५२

पूर्वमन्त्री बस्नेत भने भन्नुभयो– गठबन्धनका नेताको स्वर ‘कुखुराबाट हाँस’ जस्तै


भक्तपुर, २९ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले परमादेशबाट बनेको पाँच दलीय गठबन्धनका नेताहरुको स्वर सुक्न थालेको बताउनुभएको छ ।

सिँचाईबाट ५० लाख बजेटमा आज सूर्यविनायक नगरपालिका वडा नं। ८ सिपाडोलको घट्टेखोला ट्रस्ट ब्रिज तथा घट्टेखोला सिंचाई मुहान ड्याम निर्माणको शिलान्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले वर्तमान सरकार बनेको ७ महिनासम्म विकासको लागि एक रुपैंया बजेटसम्म ल्याउन नसकेपछि एमालेको नेतृत्वमा भएको बजेटले नै अहिलेसम्म निरन्तर विकास निर्माणका कामहरु भइरहेको बताउनुभयो । एमालेको नेतृत्वमा सरकार भएको समयमा आएको बजेट समयले आफै ल्याएको भनि आलोचना गर्ने गठबन्धनका नेताहरुले जिल्लामा एक रुपैंया बजेट ल्याउन नसकेपछि आलोचनाका ठूलो स्वरहरु अहिले सुकेको बताउनुभयो ।

वडाध्यक्ष किरण थापाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले भन्नुभयो, ‘एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा भक्तपुरका एमालेका जनप्रतिनिधिको पहलमा आएको बजेट समयले आफै ल्याएको हो, एमालेले हैन भन्ने गठबन्धनका नेताहरुले अहिले सरकार बनेको ७ महिनामा एक रुपैंया पनि बजेट ल्याउन सक्नु भएको छैन । एमाले नेतृत्वको सरकारको समयमा प्राप्त भएको बजेटले नै हालसम्म भक्तपुरमा प्रायः दैनिक रुपमा शिलान्यास तथा उद्घाटनहरु भइरहेका छन् । आफुले बजेट ल्याउन नसकेपछि गठबन्धनका नेताहरु ‘कुखुराको स्वरबाट हाँसको स्वर’मा रुपान्तरण भएको भएको छ । पहिले कुखुराको स्वर जस्तो ठूला कुरा गर्नेहरु अहिले हाँस स्वर जस्तो सानोमात्र गर्न सक्ने भएका छन् ।’

विकासमा ऐक्यवद्धता, राजनीतिमा प्रतिष्पर्धा हुनुपर्नेमा एमालेबाहेकका कुनै पनि दलले विकासमा सहयोग नगरे पनि भित्र मनबाट भने स्वीकार गरेको उल्लेख गर्दै नेता बस्नेतले निर्वाचनमा जनतालाई अत्याधिक आश्वासन दिने र निर्वाचन पनि बोलेका कुरा धेरै कठिनाई हुने तथ्य रहेता पनि एमालेका जनप्रतिनिधिहरुले जनताको बिचमा बोलेको भन्दा बढी कामहरु गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनको समयमा नेताहरुले ठूला ठूला आश्वासन दिने गरेको तितो यथार्थ हामीले देखेका छौं, भोगेका छौं । बोल्न सजिलो छ तर काम गर्न कठिन छ । तर भक्तपुरमा एमालेको नेतृत्व आएसँगै निर्वाचनमा जनताको माँझमा बोलेको भन्दा बढी काम गरेर प्रमाणीत गरेका छौं ।

एमालेको नेतृत्वकालकै बजेका कारण हाल पनि भक्तपुरमा दैनिक शिलान्यास तथा उद्घाटन भइरहेको जानकारी गराउँदै उहाँले सूर्यविनयक नगरपालिकाभित्रमात्र पनि ५०औं सडकहरु निर्माण सम्पन्न भइसकेको बताउनुभयो । विकासले नेतालाई गाउँ गाउँ, जनता जनतामा पुर्याउन सफल भएको उल्लेख गर्दै नेता बस्नेतले विकास गरेकै कारण एमालेका जनप्रतिनिधिहरु जनता र नेताको सम्बन्ध भनेको एउटा पारिवारिक जस्तै भएको स्पष्ट पार्नुभयो ।

भक्तपुरको सूर्यविनायकका सवै ठाउँहरु दुर्गमताबाट शुगमतामा रुपान्तरण भएको उल्लेख गर्दै उहाँले पुरानो पुललाई विस्थापन गरी नयाँ ट्रष्ट ब्रिज तथा ठूला पुलहरुको निर्माण भइरहेको बताउनुभयो । नगरपालिकाले छुट्याएको आठ लाखको बजेटमा सडक बनेसँगै उक्त ट्रष्ट ब्रिज नजिकै ठूलो पुल बन्ने बताउनुभयो । परम्परागत रुपमा रहेका सिँचाई नमास्ने उद्देश्यका साथ काम भइरहेको जानकारी गराउँदै उहाँले हालसम्म सूनपामा १२ वटा निर्माण सम्पन्न तथा उक्त एक गरी जम्मा १३ वटा ट्रष्ट ब्रिज निर्माण भएको जानकारी गराउनुभयो । सहरी क्षेत्रमा सुगमताले मानिसमाा आएको स्वास्थ्यमा समस्या उत्पन्नलाई न्युनिकरण गर्न पार्क, पदमार्ग, ट्रष्ट ब्रिज बनाउने कार्यहरु पुनः तिव्रता दिइरहेको उहाँले बताउनुभयो ।

लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै उहाँले जनताको भविष्यका योजना तथा लक्ष्यहरु पुरा गर्न पाउने अधिकारलाई कसैले रोक्न नमिल्ने भएकाले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने चरणमा रहेको बताउनुभयो । निर्वाचनसँगै विकासका योजनाहरुलाई तिव्र गतिका साथ अगाडी बढाउनुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।