जनता टाइम्स

२९ माघ २०७८, शनिबार २०:४८

बालुवाटार बैठकपछि प्रचण्ड–माधव निराश : कारण यस्तो


काठमाडौं, २९ माघ । एमसीसी विवाद पेचिलो बन्दै जाँदा सत्ता गठबन्धन धरमराएको छ । विहीवार दुईपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल शनिवार बालुवाटारबाट निराश भएर फिर्ता हुनुभएको छ ।

बिहीबार साँझ दुवै नेताले प्रधानमन्त्रीलाई एमसीसी पास गरेर चुनावमा जाँदा सत्ता गठबन्धन पराजित हुने र एमालेले चुनाव जित्ने भन्दै चुनावसम्म रोक्न आग्रह गरेको एक स्रोतले बतायो । एमसीसीलाई चुनावसम्म रोक्ने प्रस्ताव अमेरिकाले नमान्ने भन्दै देउवाले अस्वीकार गरेर फिर्ता पठाउनुभयो । उहाँहरुलाई दोस्रो विकल्प भनेको एमालेलाई पनि सहमतिमा ल्याएर सबै मिलेर पास गर्दा गठबन्धन पनि जोगिने र एमालेले एमसीसीविरोधी जनमतमा कब्जा जमाउन पनि नपाउने तर्क गरेको बालुवाटार स्रोतले जनाएको छ । आइतवार प्रतिनिधिसभा बैठक बोलाइएकाले शनिबार प्रचण्ड–माधव पुनः बालुवाटार जानुभएको थियो । उहाँहरु दुवैजनाले एमालेले आग्रह गरिसकेकाले बैठक दुई दिन पर सार्न सुझाव समेत दिनुभएको थियो । तर देउवाबाट उहाँहरुले त्यसमा पनि सकारात्मक जवाफ नपाएको निकट स्रोतले जनाएको छ ।

शनिवारको शीर्ष बैठकपछि प्रचण्ड माधव निरास देखिएको माओवादीका एक स्थायी कमिटी सदस्यले बताउनुभयो । यसअघि शुक्रवार दुवै नेताबीच प्रचण्ड निवास खुमलटारमा लामो छलफल भएको थियो । दुवै नेता एमसीसी पारित गर्न आफ्ना पार्टीभित्र दबाबमा छन् । तत्कालीन नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रयोग गरिएको एमसीसीको अस्त्र अहिले प्रचण्ड माधवलाई नै भारी परेको छ ।

नेकपा कालमा पार्टीबाहिर समेत ओलीलाई बदनाम गर्न एमसीसीलाई यी नेताहरुले अनावश्यक रुपमा गिजोलेको आरोप छ । प्रधानमन्त्री देउवाले शनिवारको छलफलमा ‘तपाईहरुले साथ दिनु हुन्न भने मसँग अरु पनि विकल्प छन्,एमसीसी यसै सदनबाट पारित हुन्छ’ भनेर प्रष्ट भाषामा बताएको बालुवाटार स्रोतले जनाएको छ । यो जानकारी प्रधानमन्त्रीले जसपाका नेताहरुलाई समेत गराएका छन् ।