जनता टाइम्स

१ फाल्गुन २०७८, आईतवार १४:४८

‘फेरि हामी आफ्नो घर फर्केका छौँ’ : कमल थापा


काठमाडौं, १ फागुन । राप्रपा परित्याग गर्नुभएको कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने हुनुभएको छ । केही दिनअघिमात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुनुभएको उहाँ अब ‘राप्रपा नेपाल’ को अध्यक्ष बन्नुभएको हो । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उहाँ नयाँ अध्यक्ष बन्नुभएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै उहाँले राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिनुभएको हो । राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुने थापाको भनाइ छ । ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ ​उहाँले विज्ञप्तिमा भन्नुभएको छ ।

राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाको जिकिर छ । ‘नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भयो,’ उहाँले भन्नुभएको छ,‘तर, २०७३ सालदेखि हामीले बाटो बिरायौँ ।

पार्टी ठुलो बनाउने नाममा अति महत्त्वाकांक्षा र सत्ता केन्द्रित रनभुल्लमा पर्यौं । गम्भीर राजनीतिक भुलका शृङ्खलाहरु सुरु भए । असहज र गलत प्रवृतिहरुसँग सम्झौता गर्न थाल्यौँ । फलस्वरूप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निष्क्रिय, प्रभावविहीन हुन पुग्यौँ ।’ ​अबदेखि ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेण्डा हुने उहाँले जानकारी दिनुभएको छ ।