काठमाडौं, २ फागुन । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित भएको छ।
उल्लिखित तीन दलका सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नासाथ यसलाई ‘चुनाव भाँड्ने षडयन्त्र’ भनेको एमालेले साँझ सचिवालय बैठक राखेर यसको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ। साथै आज (सोमबार) महाभियोग प्रकरणबारे थप छलफल गर्न एमालेले संसदीय दलको बैठक राख्दै छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार संसदीय दलको बैठक संसद् भवन (नयाँ बानेश्वर) मा अहिले बिहान ११ बजे बस्नेछ। त्यसअघि एमालेका नेताहरूले सत्ता गठबन्धनविरुद्ध कडा शब्दमा चेतावनी दिनुभएको छ । एमाले महासचिव शंकर पोखरेलले प्रतिपक्षसँग परामर्श नै नगरी प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव ‘षडयन्त्रपूर्ण र नियोजित कदम’ भएको उल्लेख गर्दै यसविरुद्ध आज बस्ने एमाले संसदीय दलको बैठकले ठोस कदम चाल्ने चेतावनी दिनुभएको छ ।
‘सत्ता गठबन्धनसँग महाभियोग पारित गर्ने संख्या नहुँदा नहुँदै पनि प्रतिपक्षसँग परामर्श नै नगरी ल्याइएको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव षडयन्त्रपूर्ण र नियोजित कदमका रूपमा आएको छ’, महासचिव पोखरेलले आइतबार राति भनेका छन्, ‘यसले सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयको अन्तरालपछि सुरु भएको संवादको प्रक्रियालाई बथिोल्ने र मुलुकलाई नयाँ शिराबाट मुठभेडमा धकेल्ने प्रपञ्च बोकेको छ।’उक्त कदमले अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने र अदालतलाई सत्ताको आदेशपालक बनाउने नियत राखेको आरोप महासचिव पोखरेलले लगाउनुभएको छ । ‘यसले मुलुकको संवैधानिक र राजनीतिक प्रणालीलाई कमजोर र अस्थिर बनाउने तथा नेपालको स्वाधिनता र स्वाभिमानमा नै चोट पुर्याउने जोखिम छ’, महासचिव पोखरेलले अगाडि भन्नुभएको छ ‘नेकपा एमाले यस प्रकारका षडयन्त्रपूर्ण कदमको डटेर सामना गर्न र त्यसका कुत्सित मनशायलाई असफल बनाउन दृढ र सक्षम छ।’यस्तै एमाले उपमहासचिव विष्णु रिमालले सोमबार बिहानै सत्ता गठबन्धनले शान्त प्रतिक्षी एमालेलाई ढुंगा प्रहार गरेको, हात छाडेको टिप्पणी गर्नूभएको छ। अब त्यसको जवाफ पनि कडा पाउने चेतावनी उहाँले दिनुभएको छ ।
‘गठबन्धन’ भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ’, रिमालले भन्नुभएको छ ‘भनिन्छ नि– फर इन एभ्री एक्सन, दियर इज आयन ईक्वेल एन्ड अपोजिट रियाक्सन, हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि, ’ यस्तै एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नु हुने टिप्पणी गर्दै त्यो ‘ब्याक फायर’ हुने चेतावनी दिनुभएको छ । ‘प्रन्याका विरुद्ध पारित नहुने महाभियोग सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही पनि हुन्न, जसरी २०७४ मा चुनावको मुखमा सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र कांग्रेसलाई महँगो साबित भएको थियो’, सोमबार बिहान रिजालले भनेका छन्, ‘ढुक्क भए हुन्छ– यसपटकको महाभियोगले पनि त्यसैगरी ‘ब्याक फायर’ गर्नेछ।’













प्रतिक्रिया दिनुहोस्