जनता टाइम्स

२ फाल्गुन २०७८, सोमबार १७:०६

रुपन्देहीमा रित्तियो माओवादी र जसपा : दुई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित माओवादी र जसपा सिंगो कमिटी एमालेमा बिलय


रुपन्देही, फागुन २ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई ठूलो धक्का लागेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवको पछिल्लो मुलुकबिरोधी हर्कतपछि रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश गरेका छन् ।

ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव आज एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरु आफ्नो समुहका सवै नेता–कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको हो । केवट र हरिजन माओवादी केन्द्र निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुनुहुन्छ ।

त्यस्तै यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुनुहुन्छ । स्थानीय तहको निर्वाचन घोषणालगत्तै जिल्लाका निर्वाचित दुई पालिका अध्यक्ष टीमसहित एमाले प्रवेश गरेपछि रुपन्देहीमा माओवादी निकै कमजोर बनेको छ । यस्तै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य प्रदीप पाण्डे पनि एमाले प्रवेश गर्नुभएको छ ।

एमाले रुपन्देहीले धकधईमा विशाल कार्यक्रम गरी उहाँहरुलाई पार्टीमा स्वागत गरेको हो । रुपन्देहीका निकै चर्चित यी हस्तीहरुलाई एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गर्नुभयो । उहाँहरुसँगै ओमसतियाको सिंगो माओवादी कमिटी १ हजार २ सय सदस्यसहित एमालेमा प्रवेश गरेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुयभो ।

कार्यक्रममा उपाध्यक्ष पौडेलले मुलुकभर एमाले प्रवेशको लहर चलेको बताउनु भयो । पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउदै उपाध्यक्ष पौडेलले २०७४ मा जस्तै एमालेको देशव्यापी जनलहर बढेको र आगामी निर्वाचनमा एमालेको बिजय सुनिश्चित बनेको बताउनु भयो ।