जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार ११:२९

देउवा-प्रचण्ड र माधवबीच भेटवार्ता, पर्यटनमन्त्री आलेको अश्लिल हर्कतबारे भएन कुनै छलफल


काठमाडौं, फागुन ३ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार बिहान छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच प्रधानन्यायाधीश चोलेन्द्र सशशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्ने नगर्ने बिषयमा पनि छलफल भएको छ ।

देउवाले आफ्नो पार्टीको बैठकमा सहभागी हुनुअघि प्रचण्ड र नेपाललाई छलफलको लागि बालुवाटार बोलाउनु भएको हो । छलफलमा पर्यटन मन्त्री प्रेम आलेको आपत्तिजनक धम्की र सुन्नै नसकिने गालीगलोजको अडियोभिडियो सार्वजनिक भएको बिषय उठान समेत नभएको बालुवाटार स्रोतले जनाएको छ ।