जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार १४:३४

पर्यटनमन्त्री प्रेम आलेको अश्लिल हर्कतमा नेकपा एस मौन, दियो बचाउमै लाग्ने प्रष्ट संकेत


काठमाडौं, फागुन ३ । नेकपा एकीकृत समाजवादी पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो आज विहान सार्वजनिक भएको थियो । अडियो– भिडियोमा मन्त्री आलेले भारतमा रहेका एक नेपालीलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिनुभएको छ ।

‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले न्युज कारखानासँग भन्नुभयो, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’

पार्टी भित्र छलफल भइनसकेकोले अहिल्यै यही हुन्छ भनेर भन्न नसक्ने प्रवक्ता खतिवडाले बताउनु भयो । अडियो–भिडियोको सत्यतथ्य बुझेपछि आलेमाथि कस्तो एक्सन लिने भन्ने पार्टीले निर्णय गर्ने खतिवडाले बताउनु भयो । आले एकीकृत समाजवादी पार्टीको नेतासमेत हुनुहुन्छ । खतिवडाको यो भनाईले सो पार्टी आलेको बचाउमा लाग्ने र अश्लिल हर्कतलाई नै प्रोत्साहित गर्ने पक्षमै उभिने आशंका सोही पार्टीका कार्यकर्ताहरुले गरेका छन ।

नेकपा एसका अध्यक्ष माधव नेपालले यसअघि नै सवै मन्त्री प्रेम आले जस्तै हुनुपर्ने भन्दै सार्वजनिक रुपमा आलेजस्तै बन्न निर्देशन दिनुभएको थियो ।