जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार १६:३७

आङ खसेका महिलाको उपचारमा नगरपालिकाको घुम्ती शिविर


खोटाङ, ३ फागुन । आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिबिर सञ्चालन भएको छ । आङ खसेर दर्दनाक दिनचर्या बिताइरहेका महिलालाई लक्षित गर्दै नगरपालिकाले विभिन्न वडामा विशेष शिविर तथा पाठेघरको क्यान्सरको जाँचका लागि भीआईए क्याम्प सुरू गरेको हो ।

रोग लुकाएर बसेका पीडित महिलाको पहिचान गर्ने र उपचार सेवा सहजै उपलब्ल गराउने लक्ष्यका साथ १ फागुनमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाबाट सुरू भएको घुम्ती शिविर मंगलबार हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पुगेको छ । बाहुनीडाँडाको शिविरमा आएका ७६ जना सेवाग्राहीमध्ये आङ खसेका आठ जनामा रिङप्रेसरी राखिएको छ ।

भीआईए जाँचका क्रममा आङ खस्ने समस्याका कारण एक महिलामा क्यान्सरको लक्षण देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । यस्तै, २ फागुनमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा सञ्चालन गरिएको शिविरमा ५२ जना सेवाग्राही लाभान्वित भएका छन् ।

मंगलटारको शिविरमा ६ जनालाई रिङप्रेसरी राखिएको छ । सल्लेको शिवरमा ९० जनाभन्दा बढी सेवाग्राही आएको सह–संयोजक घिमिरेले बताए । सल्लेमा पुरै आङ खसेका दुई वृद्धाको पहिचान गरिएको छ । पुरै आङ खसेको र उमेर हदका कारण उनीहरूको शल्यक्रिया गर्न नमिल्ने भएकाले घरैमा पुगेर रिङ प्रेसरी राख्ने तयारी गरिएको छ । उनीहरूलाई अटो रिक्सामा राखेर समेत शिविरमा पुर्याउन नसकिएको सह–संयोजक घमिरेले बताउनुभयो ।

घुम्ती शिविर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको नवलपुरमा पुगेर टुंगिने छ । पाठेघरको क्यान्सर भएका महिलालाई पायक पर्ने शहरमा गएर उपचार गर्न यातायात खर्चबापत जनही पाँच हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । घुम्ती शिबिरका लागि मेयर इवन राई, उपमेयर विमला राई, स्वास्थ्य शाखा संयोजक खेमराज आचार्य, सह–संयोजक घिमिरे, स्वास्थ्यकर्मी लगायतको टोली हिँडिरहेका छन् ।