जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार २०:५५

सिद्धबाबामा गुडिरहेको कारमाथि ढुंगा खस्दा दुईजना घाइते


पाल्पा, भदौ ३० । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमाथि ढुंगा खस्दा दुईजना घाइते हुनुभएको छ।

तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै मंगलबार साँझ करिब साढे ६ बजे सडक माथिबाट अचानक खसेको ढुंगाले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा २० च ३९९९ नम्बरको कारलाई किचेको हो।

ढुंगाले किच्दा कारमा पूर्ण क्षति पुगेको छ। कारमा चालकसहित तीनजना सवार हुनुहुन्थ्यो।

घाइते हुनेमा बुटवल उपमहानगरपालिका–७ दीपनगरकी ३७ वर्षीया जुलन गैरे र जेसिज चोककी ६२ वर्षीया राधिका ढकाल हुनुहुन्छ। दुवैजनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो।

घाइते दुवैजनालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।

कार चालक रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ कोलुवाका ३६ वर्षीय राजकुमार लोध भने सकुशल हुनुहुन्छ। घटनालगत्तै प्रहरी चौकी दोभानबाट खटिएको टोलीले कारमा रहेका व्यक्तिहरूको उद्धार गरेको थियो।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।