जनता टाइम्स

४ फाल्गुन २०७८, बुधबार ११:५६

संसदीय दलको बैठक सकेर देउवालाई धम्की दिन पुगे बालुवाटार प्रचण्ड


काठमाडौं, ४ फागुन । सिंहदरवारमा संसदीय दलको बैठक सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको छ ।सत्ता गठबन्धनको सहमति बिना एमसीसी टेबल गर्न नहुने निर्णय गरेर प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्रीलाई एमसीसी अघि नबढाउन सुझाव दिनका लागि प्रचण्ड बालुवाटार पुगेको स्रोतको दावी छ । बालुवाटार स्रोतले भन्यो, ‘प्रचण्ड भर्खर आइपुग्नुभएको छ ।’प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा सहमति नगरी जवर्जस्ती संसदमा एमसीसी टेबल गरे सरकार छाड्ने माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

सत्ता गठबन्धनमा सहमति नभएको विषयलाई जवर्जस्ती टेबल गरे सरकारमा रहनुको औचित्य समाप्त हुने भन्दै माओवादीले सरकार छाड्ने निष्कर्ष निकालेको हो ।सिंहदरवारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता देव गुरुङले जवर्जस्ती एमसीसी अघि बढाए माओवादीले सरकार छाड्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो । ‘यो पाँच दलीय गठबन्धनको सरकार हो। गठबन्धनको सहमतिबिना कांग्रेसले टेबल गरे गठबन्धन भत्किन्छ,’ गुरूङले भन्नुभयो ,‘गठबन्धन भत्किएपछि हामी सरकारमा बस्दैनौं।’ आज दिउँसो १ बजे संसद बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री देउवा एमसीसी टेबल गर्ने पक्षमा छन् । सत्ता गठबन्धनमा एमसीसी टेबल गर्ने विषयमा सहमति जुटेको छैन ।