काठमाडौं, फागुन ४ । दुईखेल बाँकी रहँदै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । दशरथ रंगाशालामा आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोलको नतिजामा पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो । गत सिजन पनि मछिन्द्रले नै यो उपाधि जितेको थियो ।
जितसँगै मछिन्द्र ११ खेलमा अपराजित रहँदै २९अंक जोडेको छ । दोस्रो स्थानको मनाङले बाँकी तीन खेल जितेर अंक बराबरी गरेपनि हेड टु हेडका आधारमा मछिन्द्र नै च्याम्पियन बन्नेछ । आजको खेलमा मछिन्द्रलाई लिग च्याम्पियन बनाउन सातदोबाटोविरुद्धको खेलमा अजरवैजानी खेलाडी नुर्लान नोभ्रूजोभले खेलको ५३औं मिनेटमा निर्णायक गोल गरे । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपरले राम्ररी क्लियर गर्न नसक्दा बल नुर्लानको खुट्टामा पुगेको थियो । यार्ड बक्सनजिकै रहेका नुर्लानले सजिलै गोलपोष्टमा छिराए ।
त्यसअघि, खेलको १९औं मिनेटमा वान भर्सेज वानको अवस्थामा विमल बक्सभित्रबाट गोल गर्न असफल भएपछि मछिन्द्रले अग्रतालिने अवसर खेर फालेको थियो । मछिन्द्रका फरवार्ड नुर्लान नोब्रुजोभको क्रसमा बिमलले २४औं मिनेटमा हेडरमार्फत गरेको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले उत्कृष्ट बचाउ गरे ।
सातदोबाटोका फरवार्ड सुशील राईको क्रसमा सुदिप गुरूङले २८औं मिनेटमा गरेको प्रहार फ्रेममा नपर्दा सातदोबाटो अग्रता लिनबाट चुक्यो ।
प्रतिक्रिया दिनुहोस्